नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा बुधबार विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताए ।
सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औँल्याए। उनले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिए।
कांग्रेसलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको उल्लेख गर्दै सभापति थापाले पार्टीका ज्येष्ठ सदस्यको सदस्यता ऐतिहासिक भएकाले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पारे।
उनले आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काइने बताए। उनले पार्टीमा चार पुस्तालाईसँगै मिलाएर सङ्गठन मजबुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्