नेपाल । रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो ।
विवरण अनुसार सात महिना अर्थात यो आवको माघसम्म १२ खर्ब ६१ अर्ब एक करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । माघमा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष माघमा एक खर्ब ३७ अर्ब ५० करोड रुपियाँ थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५।५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको जनाइएको छ ।
रेमिट्यान्स आप्रवाहको वृद्धिसँगै नेपालको विदेशी मुद्रा सञ्चिति पनि बढेको तथ्याङ्कले देखाउँछ । विवरण अनुसार विदेशी मुद्रा सञ्चिति ३३ खर्ब दुई अर्ब ६६ करोड रुपियाँ बराबर छ । गत असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड थियो । पछिल्लो सञ्चिति एक वर्ष छ महिनाका लागि वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्