१९ फाल्गुन २०८२, मंगलवार

मंगलबार चन्द्रग्रहण लाग्ने

कोलोराडोखबर संवाददाता , March 3rd, 2026

नेपाल । मंगलबार चन्द्रग्रहण लाग्ने भएको छ ।

ग्रस्तोदित खण्डग्रास अर्थात उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा चन्द्रमालाई स्पर्श गर्नेछ ।

चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ।

बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्