नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले सो निर्देशन दिनुभएको हो ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्