२३ माघ २०८२, शुक्रबार

विजय गौतमको अपिल- ‘यो मेरो होइन, यो भूगोलको भविष्यको फैसला हो’

कोलोराडोखबर संवाददाता , February 6th, 2026

नेपाल (मकवानपुर) । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–५ (राजदमार र कर्मचुली) तथा बकैया–६ (जुनेलीबस्ती) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमले चुनावी माहोललाई थप तातो बनाएको छ। स्थानीयको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।

कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिजय गौतमले देशको वर्तमान संकट समाधानका लागि नेकपाको जित अपरिहार्य भएको बताए। उनले राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायको मुद्दालाई चुनावको केन्द्रमा राख्दै, “यो चुनाव कुनै व्यक्तिको जित–हारको विषय मात्रै होइन, यो भूगोलको भविष्यको फैसला हो,” भने ।

गौतमले आफू बकैयामै हुर्किएको, यहीँ पढेको र यही माटोसँग गाँसिएको उम्मेदवार भएको स्मरण गराउँदै स्थानीयका पीडा र आवश्यकता आफूले नजिकबाट बुझेको बताए। “यसअघि जितेका धेरै नेता गाउँ फर्किएनन् भन्ने गुनासो सुनेको छु। म यो ठाउँबाट भाग्ने उम्मेदवार होइन, यहीँका समस्या लिएर यहीँका मानिससँगै लड्ने उम्मेदवार हुँ,” उनको भनाइ थियो ।

उनले युवापुस्ताको चाहना र आक्रोशलाई सम्बोधन गर्दै, युवाको ऊर्जा र अनुभवको संयोजनबाट मात्रै देशलाई नयाँ दिशामा लैजान सकिने धारणा राखे। कार्यक्रममा सहभागी स्थानीयले पनि बिजय गौतमलाई ‘आफ्नै पालिकाको छोरो’ भन्दै तारामा मतदान गरेर जिताउने प्रतिबद्धता व्यक्त गरे ।

नेताहरूले नेकपा देशलाई जोगाउन अग्रपंक्तिमा उभिएको भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै, अब जनमतले पनि देशको रक्षा र रूपान्तरणको जिम्मा नेकपालाई दिन तयार भएको बताए। संविधानलाई जनमैत्री बनाउनेदेखि विकासका ठोस कार्यक्रम कार्यान्वयन गर्नसम्म नेकपाको भूमिका निर्णायक हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी माझी ‘कृपा’, प्रदेश कमिटी सदस्य जीवन गोले, सुमन पाख्रिन, परशुराम गौतम, पार्टी नेता गोकर्ण खनाल, मोतिलाल सिङ्गार, बकैया गाउँपालिका संयोजक बिमल नेपाल, थ्ऋी मकवानपुर अध्यक्ष मुक्ति लामा, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीलगायतले सम्बोधन गरेका थिए ।

यसैबिच बकैया६ का शहीद परिवार समित थिङलाई सम्मान गरिएको छ । वक्ताहरूले शहीदहरूको बलिदानकै कारण आजको राजनीतिक अधिकार सम्भव भएको उल्लेख गर्दै, त्यसको रक्षा र विकासको जिम्मेवारी वर्तमान पुस्ताको काँधमा रहेको बताए ।

स्थानीय स्तरमा देखिएको यो उत्साह र सहभागिताले मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपाको चुनावी अभियान थप बलियो बन्दै गएको संकेत गरेको छ। ‘जितको नजिक, सबैको साथ’ भन्ने नारासहित अघि बढेको नेकपाको यो अभियानले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धी र चासोपूर्ण बनाउने देखिएको छ ।

बकैया–५ मा जमबहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य सुबोध घलानको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै बकैया–६ जुनेलीबस्तीमा नेकपा बकैया गाउँपालिका अध्यक्ष पुष्पराज भोलनको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो भने उपाध्यक्ष बाघ सिंह भोम्जन ले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्