नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले जापानका प्रधानमन्त्री सनाय तकाइचीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिको सम्बन्ध अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनु भएको छ । उहाँले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनायले मंगलबार गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका क्षेत्रमा गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको उहाँको भनाइ थियो ।
सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानका लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताउनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । जापानका प्रधानमन्त्री सनायले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताउनुभयो ।
उहाँले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सम्पर्क र जापानी नागरिकले नेपालका हिमालहरू चढ्ने गरेको जस्ता कारणले दुई देशबिचको सम्बन्ध प्रगाढ हुँदै गएको बताउनुभयो ।
प्रधानमन्त्री सनायले नेपाल–जापान कूटनीतिक सम्बन्धका अवसरमा दुवै देशबिचको सम्बन्ध झन् प्रगाढ होस् भन्दै जापानले नेपालको सूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्