नेपाल । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीले युवा उम्मेदवार विजय गौतमलाई अघि सारेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय बकैया गाउँपालिकाका वासिन्दा हुन् । मकवानपुर जिल्लामा नेपाली कम्युनिष्ट पार्टीको प्रभाव उल्लेख्य छ । विगतमा पहिलो संबिधान सभा निर्वाचनमा त्यतिबेला ४ वटा क्षेत्रमा विभाजित सबै क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) का उम्मेदवारले विजय हासिल गरेका थिए ।
त्यसपछिका निर्वाचनहरुमा भने नेकपाका उम्मेदवारले संघीय संसद पदमा जित निकाल्न सकेका छैनन् । तर प्रदेश सभा, उपमहानगर र गाउँपालिकाहरुमा जित्दै आएको छन् । हाल जिल्ला समन्वय समितिका अध्यक्ष र हेटौंडा उपमहानगरको मेयर पनि नेकपाकै नेता छन् ।
यसरी विगतलाई विश्लेषण गर्दा पनि यतिबेला मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम बलिका उम्मेदवारका रुपमा देखिन्छ । उमेरले भर्खर ४० काटेका विजयले आफू एउटा परिपक्क र जिम्मेवारीका साथ जेनजी आन्दोलनको भावनालाई समेट्न सक्ने गरी चुनावी मैदानमा होमिएको बताए ।
नेकपाको केन्द्रीय सदस्य र मकवानपुर जिल्ला इन्चार्ज रहेका विजयले विगतमा लामो समय विधार्थी राजनीति गरे । विगतमा माओवादी नेतृत्वको सरकारमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा बागमती र बकैया गाउँपालिका, मकवानपुर गढीको ४ वटा वडा र हेडौंडा उपमहानगरपालिकाको १, ३ र ११ बाहेकका वडा क्षेत्र पर्दछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्