११ माघ २०८२, आईतवार

राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै

कोलोराडोखबर संवाददाता , January 25th, 2026

नेपाल । राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ ।

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा १८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । एमालेबाट आठ, नेपाली कम्युनिस्ट पार्टीबाट १७, नेपाली कांग्रेसबाट नौ, जनता समाजवादी पार्टीबाट तीन र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक, नेपाल मजदुर किसान पार्टीबाट दुई र राष्ट्रिय जनमोर्चाबाट चार पदका लागि मनोनयन दर्ता भएको हो ।

प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणा गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित हुने छन् ।

राष्ट्रिय सभाका सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । सभाका सदस्यको पदावधि भने छ वर्षको हुन्छ । सो व्यवस्थाबमोजिम २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्