५ माघ २०८२, सोमबार

मेयरहरु धमाधम राजीनामा दिंदै, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी

कोलोराडोखबर संवाददाता , January 19th, 2026

नेपाल । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आइतबार पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डंगोल समक्ष उहाँले २०८२ माघ ४ गतेबाट लागू हुने गरी राजीनामा पेश गर्नुभएको हो ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गर्नुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

यता धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि आइतबारनै राजीनामा दिएका छन् । भरतपुर महानगरका मेयर रेनु दाहाल र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पनि राजीनामा दिने भएका छन् ।

बालेन रास्वपा, साम्पाङ श्रमसंस्कृति पार्टी, रेनु नेकपा र राजेशमान सिंहले नेकपा एमालेबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यही माघ ६ गते मनोनयन दर्ताको मिति तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्