-लालगोपाल सुवेदी-
कस्तो थियो होला
काढाँको पूर्व जुनी
जति नै गुन लगाए पनि फूलले
शिरमै सुहाए पनि काँडा त खुनीको खुनी
सायद यो समयमा फूल फुलाउने अवसर
काँढाको भाग्यमा रहेन
डस्नु हो सर्पको स्वभाव
कोपर्नु , चिथर्नु , रगतपच्छे बनाउनु धर्म काँडाको
काँडाको अन्तर्यमै छिपेको छ वैरभाव,
काँडाको यो जन्मजात स्वभाव
संसार चाहन्छ मगमग वासना
तर हामीले चाहेजस्तो काँडा कहिल्यै भएन
फूल नै फूलको डसनामा काँडालाई सुताए पनि
फूलकै तकियासहित फूलकै च्यादर ओढाए पनि
सुन्दैन काँडाले
आनी छोइङको शान्तिगीत
बुझ्दैन काँडाले दुर्गालालको शब्दसद्भाव
पच्दैन काँडाले न्ह्यू बज्राचार्यको सुमधुर संगीत
अहँ ;मन पर्दैन काँडालाई समभाव र शान्त रस
कहाँ बुझोस् कठै त्यसले ब्रह्मानन्द !
देवकोटा जयन्तीले पो उतारदियो
काडाको कृत्रिम मुखौटो
काँडो शब्दकोशमा भेटिंदै भेटिंदैन
स्रग्विणी छन्द,प्रयोजनवती लक्षणा वा कुनै निगुढ व्यन्जना
हो, “ काँडाको आँखामा काढै संसार “
पल्टाउनुहोस् पानाहरू अखबारका
स्क्रोल गर्नुहोस् फेसबुक पेज आद्योपान्त
सुन्नहोस् युटुबरहरूलाई नबिराई एक एक
जहाँ पनि जता पनि
गाली सम्राटहरूकै छ ढलिमली
सिला खोज्दा पनि भेट्न मुस्किल छ अहिले
जीवनवादी कविता वा सकारात्मक सोच
तर मन पराउँछन् आज पनि गाली सम्राटहरू
जुद्ध शम्शेरकै जस्तो स्वस्ती , जी हजुरी र लम्पसारवाद
र पसल पसलमा किन्न पाइन्छ
आदर्शवाद, अत्याधुनिक भजनको जलप लागेका मुखौटाहरू
हराएको छ कवितामा शाश्वत जीवनको लय
यहाँ सच्चा कविले जीवनभर
काँढै काँडामा टेकेर यात्रा गरिरहनुपर्ने बाध्यता छ
मर्दै गएको छ कविता
मानवता मर्नुको सूचक नै आजको कविता हो
मानौ कविता भनेको नै गालीवाद हो
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्