-आरसी रिजाल-
७५ बर्षे दिदी सिकिस्त हुनुहुन्छ भनेको सुनेर भेट्न गएँ।उहाँले मलाई चिन्नु भएन। भान्जी बुहारीले पातलो दाल दुईतीन चम्चा खुवाइन्।घुटुक्क निल्नु भयो। मैले बुहारीलाई — यो घिटघिटी कहिलेसम्म स्याहार्न पर्ने हो ? तिमले कष्ट भोग्न पर्नेभो भन्दा ऊनीले – मामा ईश्वरको पुजाभन्दा बुढाबुढीको सेवागर्दा झन ठूलो पुण्य कमाइन्छ भन्छन् ।यस्तो सौभाग्य जो कोहीले कहाँ पाउछ र भनिन् ।
* * *
दिदीको मुखहेरेर फर्केको तेस्रोदिन छिमेकी साथीकोमा चिया पिउदै थिएँ मोबाइलको घण्टी बज्यो।बुहारीले- तपाईंको दिदीको बैकुण्ठवास भयो भनिन्। मैले – के गर्छेस नानी,मनुस्य चोला यस्तै हो।चित्त नदुखाउ दिदीको आत्माले शान्ति पावस भन्दै मोबाइल बन्द गरेँ। माइती आएकी साथिकी बैनि रुकुले – कसलाई के भयो दाइ भनिन् । मैले- खै मेरो ग्रहै त्यस्तो हो कि काकताली परेको हो। आजसम्म मैले हेर्न गएको सिकिस्त बिरामी एकहप्ता भित्रमा सबै गएका छन् ।अस्ति हेरेर आएको दिदीको पनि निधन भएछ भनेँ।
* * *
अर्को दिन रुकु आएर – हजुरलाई एउटा अनुरोध गर्न आएकी भनिन् ।मैले कुरा के हो भने ? उनले- खासै त्यस्तो केही छैन ।एकदिन मेरो घर हेर्न आउनुस न भनिन्।मैले — घरमा कोको छ्न् भनी सोधेँ ? उनले ज्वाइँ सहरतिरै काम गर्नुहुन्छ । ५ कक्षामा पढ्ने छोरी छे। मेरो खासकाम भनेको बुढी सासुलाई स्याहार्नु हो भनिन्। मैले — बुढाबुढी स्याहार्नेप्रती अगाध श्रद्धालाग्छ ।एकदिन आउछु भने।
* * *
एक हप्तापछी उनको घर पुगेँ।चिया र गफ दुबै सिध्दिएपछि उनले– दाइ मेरि सासुलाई हेर्दिनुस् न। मेनेन्जाइटिक हो कि के रोग भन्थ्यो डाक्टर ।पुर्वजन्ममा के पाप गरेकी थिन् कुनि? दुईबर्ष भैसक्यो होसहवास छैन भनिन्।उनको पछि लागेँ।बिरामीको कोठा अलि फोहर भएकोले म धेरैबेर अड्न सकिनँ।
* * *
मैले हिड्ने बेलामा — रुकु तिमिले मलाई बोलाउनुको खास कारण केही थियो कि? भनेँ। उनले -त्यस्तो केही छैन दाइ।तपाईंले हेरेको सिकिस्त बिरामीहरु एक हप्ताभित्र निधन हुन्छ भन्नू भएकोले सासुलाई हेर्न बोलाएकी हुँ। दाजुको नजर मेरि सासुलाई पनि लागोस भनिन्।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्