२० मंसिर २०८२, शनिबार

कविता: हे पृथ्वी फर्क आऊ

कोलोराडोखबर संवाददाता , December 6th, 2025

-सुदीपभद्र खनाल-
काटे डाँडा ठिटाले मरु कि त डमरू माग्न थाल्यो कथाले
ढाँटी ढाँटी बिगारे छल र कल गरी नित्य नेतृत्वकाले
चर्क्यो अन्याय कालो अमन चयन गए दुर्दशा बढ्न थाल्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

हाम्रा चर्खा हराए बन घन हँसिया औषधी मासिएर
आए औजार नौला मुलुक तल परी पेलियो खुम्चिएर
छैनन् कोही हितैषी मुलुकतिर दिने ध्यान सत्कर्म भाग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

भत्की त्यो एकताको बल मुलुक भयो रूग्ण कम्जोर ताज
रैतीकै चल्छ सत्ता तरपनि मुलुकी सान भो म्लान आज
जोडी हामी अनेकौँ सबल मुलुक दिने चेतना छैन भाग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

गोर्खाली छैन आभा चर चर सबमा छन् विदेशी पसेका
नेपाली सन्तती छन् पर घर नहुँदा काम खोजी बसेका
घाटैघाटा छ सारा ऋण अनि गरिबीले धुरी ढल्न लाग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देशनै डुब्न लाग्यो

पेल्दैछन् शत्रु आई तरह तरहले देश यो खुम्चँदैछ
आमा नेपाल हाम्रो धरधर खुनको आँसु झारी रुँदैछ
तिम्रो झैँ चाल ताजा रिपुदमन हुने देशले आज माग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्