११ मंसिर २०८२, बिहीबार

एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु

कोलोराडोखबर संवाददाता , November 27th, 2025

नेपाल । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा बुधबार निर्माणको शुभारम्भ गर्नुभयो ।

एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३, सूर्यबस्तीदेखि नेपाल–भारत सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने छ ।

त्यस क्रममा अर्थमन्त्री खनालले एमसिसी परियोजनाले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताउँदै अमेरिकी सरकारको सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री खनालले अब तीन वर्ष पनि पूरा समय नभएकाले समयमै काम सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो ।

विद्युत् प्रसारण लाइनको बहुआयामिक महत्व रहेको बताउँदै उहाँले नेपालमा आन्तरिक बजारमा आवश्यक भएका बेला आयात गर्न र दक्षिण एसियामा ऊर्जा बजारमा नेपालको सशक्त उपस्थिति बढाउन यो परियोजना कोसेढुङ्गा साबित हुने चर्चा गर्नुभयो । नेपालका लागि अमेरिकाका राजदूत थम्प्सनले नेपालको हरित ऊर्जा सुरक्षामा यस परियोजनाले सहयोग पुग्ने बताउँदै अमेरिकाले नेपालसँगको सहकार्यमा प्रविधि र लगानीमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक वृद्धि र दक्षिण एसियामा विद्युत् व्यापारका लागि यो परियोजना महत्वपूर्ण हुने उल्लेख गर्दै अमेरिका नेपालको दिगो सहयात्रीका रूपमा उभिँदै आएको बताउनुभयो । सुनवलदेखि भारतको सीमा नाकासम्म ५३ वटा टावर निर्माण हुने एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिनुभयो । जसको मुआब्जा वितरण अन्तिम चरणमा रहेको एमसिए नेपालले जनाएको छ ।

मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने प्रसारण लाइनका लागि टावर निर्माण गर्न जग्गाको अवस्था हेरीकन प्रतिकट्ठा नौ लाख १४ हजारदेखि ७३ लाख ६७ हजारसम्म रकम भुक्तानी गरिएको छ । सानाठुला दुई प्रकारका टावर निर्माणका लागि एक कट्ठा आठ धुरदेखि दुई कट्ठासम्म जग्गा अधिग्रहण गरिएको छ । ३९ महिनाभित्र सबस्टेसन र २१ महिनाभित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरी भारतीय दुई कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्