२८ कार्तिक २०८२, शुक्रबार

पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय

कोलोराडोखबर संवाददाता , November 14th, 2025

नेपाल । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

आयोगको बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।

खापुङ बिहीबारदेखि सेवा निवृत भएका छन् । आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा अनुसार आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

आयोगका निर्णय तथा सूचना गृह मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि विदेश भ्रमणमा रोक लगाइएको छ भने काठमाडौँ उपत्यका बाहिर जान पनि अनुमति लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्