२४ कार्तिक २०८२, सोमबार

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित

कोलोराडोखबर संवाददाता , November 10th, 2025

नेपाल । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको २०२६ का लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

१५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिसको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । थापाले धैर्य, कडा परिश्रम र निरन्तरताले उपाध्यक्षमा निर्वाचित हुन सफल भएको बताइन् ।

नेपाल जेसीजले पछिल्लोपटक सन् २०११ मा अन्तराष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो । ‘अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्षको रूपमा सिनेटर रजनी थापाको चयन नेपाल जेसीजको लागि ऐतिहासिक पुनरागमन हो । यो उपलब्धिले नेपालको युवा नेतृत्व क्षमता, प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति पुनः स्थापित गरेको छ । उहाँको सफलता नेपाली महिलाको क्षमता, परिश्रम र नेतृत्व योग्यताको प्रतीक बनेको छ’, जेसीज नेपालले भनेको छ ।

विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकहरूको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित जुनियर च्याम्बर इन्टरनेशनल, जसको मूल उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा अभियन्ताहरु तयार गर्नु रहेको छ । सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यो संस्था अहिले विश्वका २०० भन्दा बढी देशमा करिब ५ लाख सदस्यहरूसहित सक्रिय छन् ।

नेपाल जेसीज नेपालमा सन् १९६५ मा स्थापित १८ देखि ४० वर्षसम्मका युवाहरुको संस्थाको हो। जसले देशभरका १७८ भन्दा बढी स्थानीय शाखाहरु मार्फत सदस्यहरूलाई नेतृत्व र अवसर प्रदान गर्दै आएको छ । युवाहरूमा नेतृत्व विकास, उद्यमशीलता, समुदाय सेवा र अन्तराष्ट्रिय सहकार्य प्रवद्र्धन गर्दै आएको नेपाल जेसीजले राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्‍यारहेको छ ।

प्रतिक्रिया दिनुहोस्