२३ कार्तिक २०८२, आईतवार

एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि त्रिभुवन विमानस्थल ४ घण्टा अवरुद्ध

कोलोराडोखबर संवाददाता , November 9th, 2025

नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि शनिबार चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो ।

बेलुका करिब ६ देखि बन्द उडान राति १० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।

शनिबार काठमाडौँमा घाम अस्ताएसँगै विमानस्थलको धावनमार्ग अँध्यारो हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका दर्जन बढी उडान प्रभावित भएका थिए । यस विमानस्थलमा बेलुका ५ः१६ बजेदेखि प्रविधिमा आधारित रहेर उडान अवतरण हुँदै आएको छ । काठमाडौँमा जहाज अवतरण हुन नसकेपछि कतार एयरवेजको जहाज झन्डै दुई घण्टा आकाशमा फन्को मारेर बङ्गलादेशको ढाका डाइभर्ट भयो । फ्लाई दुबईको जहाज भारतको लखनउ, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट हुन पुगे ।

धावनमार्गमा रहेका बत्तीको संयन्त्र प्रणालीमा सेन्टरलाइन, छेउछाउका बत्ती तथा विमानलाई उडान र अवतरणमा सहजीकरण गर्ने एप्रोच लाइट पर्छन् । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार दिनभर आँखाले हेरेर हुने (भिएफआर) उडान सञ्चालन भए पनि बेलुकादेखि सञ्चालन हुने उपकरणमा आधारित ९आइएफआर० उडानका लागि आवश्यक धावनमार्गका बत्तीमा आएको समस्याका कारण उडान अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्