नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताउनुभयो ।
“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीसाथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।”
अध्यक्ष ओलीले थप्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीसाथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”
उहाँले जेनजी आन्दोलनबारे टिप्पणी गर्दै राष्ट्रिय झन्डा बोक्नेले सिंहदरबारमा आगो लगाउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने तत्वले देश र देशको सम्पत्ति, सम्पदा मन नपराएको उहाँले बताउनुभयो । सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका बर्दी र हतियार खोस्ने काम राष्ट्रिय झन्डा बोक्नेले नगर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्