संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना !
आज १० औँ संविधान दिवस मनाइँदै गर्दा, म सबैभन्दा पहिले लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरूका साथै यही भदौ २३ र २४ गते युवापुस्ताद्वारा गरिएको प्रदर्शनमा जीवन गुमाउनुहुने युवासहित सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु साथै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । प्रदर्शनका क्रममा सार्वजानिक एवं निजी सम्पत्ति, औद्योगिक एवं व्यापारिक प्रतिष्ठान तथा राष्ट्रिय सम्पदामाथि हुन गएको अकल्पनीय विध्वंस र क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।
यी दुई दिनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति बेहोरेको छ । छोराछोरीको एउटा अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाहरूका बुवाआमाको पीडा अनुभव गर्न सक्छु र त्यस व्रmममा भएको राष्ट्रको अपार जनधनको क्षतिको पनि अनुमान गर्दछु । राष्ट्रको अभिभावकका रूपमा मुलुकले ती कर्णधार युवाहरू गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु । आज संविधान दिवसका दिन म ती सारा युवाको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु, जो मुलुकमा थिति बसोस् र राष्ट्रको भविष्य उज्ज्वल होस् भनेर भदौ २३ गते सडकमा आएका थिए ।
हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने मेरो दृढ विश्वास छ । म आफैैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको थिएँ । परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता समाल्ने ठाउँमा ल्याएर राखेको छ । र सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई समालेका छौँ । लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहना अनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो, हामी सबैले मिलेर गरेका छौँ । मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ । नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने छ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै छ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने छ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो ।
प्रतिनिधि सभाबाट मन्त्रीपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले यो कदम चालिएको कुरा सबैले बुझाँै र छ महिनाभित्र प्रतिनिधि सभा ल्याउने चुनाव सम्पन्न गर्न सबै लागौँ ।
यो घडीमा म सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व होइन पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि व्रिmयाशील हुन आह्वान गर्दछु ।
यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ र समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।
आजको सन्दर्भमा सुशासन, बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव छ । जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस् भन्ने कुरालाई सबैले मनन गरौँ र सुध्रिएर अघि बढ्ने अठोट गरौँ ।
हामी सबैलाई थाहा छ, हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको छ । यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिन्छ । त्यसका लागि हाम्रो संविधानले सदैव मार्गदर्शन गर्दछ । सबैलाई थाहा छ कि हाम्रो संविधानले लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य लिएको छ । यो लक्ष्यका लागि राज्यबाट प्राप्त हुने सेवा सुविधा र अवसरमा समान पहुँच कायम गर्नु, सामाजिक सुरक्षा सुनिश्चित गर्नु र समावेशी विकासलाई गति दिनु आजको मुख्य आवश्यकता हो ।
आजको दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई व्यवहारमा उतार्ने पुनः प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलनमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना पनि दिन चाहन्छु र यस कठिन परिस्थितिमा हाम्रा सबै मित्रराष्ट्रको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा पनि गर्दछु ।
आज हामी सङ्कल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्ने छौँ, हामी सुशासनप्रति प्रतिबद्ध रहने छौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्ने छौँ ।
अन्त्यमा मुलुकमा स्थायी शान्ति र समुन्नतिका लागि सबैले देश र जनताप्रति इमानदार भएर नैतिकता, निष्ठा र सदाचार अँगालौँ ।
जय नेपाल !
(राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा गर्नुभएको सम्बोधनको सम्पादित अंश ।)
प्रतिक्रिया दिनुहोस्