२१ बैशाख २०८३, सोमबार

नेकपा एमालेमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमितता हटाउने तयारी

कोलोराडोखबर संवाददाता , July 18th, 2025

नेपाल । नेकपा एमालेले पार्टी विधानमा उल्लेख गरिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमितता हटाउने तयारी गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकमा उक्त व्यवस्था हटाउने प्रस्तावमाथि छलफल भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उपाध्यक्ष विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको भए पनि बैठकमा छलफलपछि पदाधिकारी सङ्ख्या १५ पुर्‍याउने सहमति भएको छ । त्यस्तै पार्टी केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने उहाँले जानकारी दिनुभयो । केन्द्रमा स्थायी कमिटी, पोलीटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह हुने उहाँले बताउनुभयो । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो रहने ज्ञवालीले जानकारी दिनुभयो ।

अब संशोधन प्रस्ताव पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीमा पेश हुनेछ । त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले अनुमोदन गरेपछि मात्र यो व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। विधान महाधिवेशनका प्रतिनिधि दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु नै हुने विधानमै व्यवस्था छ भएको ज्ञवालीले स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्