नेपाल । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले प्रधानमन्त्रीलाई बिदाइ गर्नुभएको हो ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुने छन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्ने छ। सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने छ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।
यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका सम्पन्न गरी उहाँ यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ।
प्रतिक्रिया दिनुहोस्