१५ असार २०८२, आईतवार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकदशकपछि सक्रिय राजनीतिमा !

कोलोराडोखबर संवाददाता , June 29th, 2025

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकदशकपछि सक्रिय राजनीतिमा फर्किनुभएको छ ।

शनिबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले एमालेको सङ्गठित सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा सोही समारोहमा गर्नुभयो । उहाँले एमालेमै रहेर जीवनभर देश र जनतामा समर्पित हुँदै पार्टीको काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कुनै विशिष्ट महत्वाकाङ्क्षा नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । म एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएकी छु । र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकाङ्क्षा छैन ।”

पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको अवसानबाट पार्टी र आफूसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा पार्टीले काठमाडौँको संसदीय उपनिर्वाचनमा प्रतिपस्पर्धी बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमाबुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ । जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ । जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ ।”

प्रतिक्रिया दिनुहोस्