नेपाल । मकवानपुरको हेटौंडामा जमिन भासिएर बेपत्ता भएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटिएको छ ।
१९ औं दिनमा जेसीबी प्रयोग गरेर गाडीको पार्टपुर्जा निकालिएको हो । हेटौंडा उपमहनागरपालिका१६ स्थित गैरीगाउँ माछापालन गरिएको फाँटमा जमिन भासिएर हराइरहेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी मंगलबार जेसीबी प्रयोग गरेर निकाल्न प्रयास गरिएको थियो ।
मंगलबार अपरान्ह गाडीको च्यासिस फेला परेपछि निकाल्ने काम भइरहेको हो । गत १९ बैशाखमा गैरीगाउँ माछापालन क्षेत्रमा माछा बोक्ने बलेरो गाडी अनलोड गर्ने क्रममा जमिन भासिएर पुरिएको थियो । लगातार ३ दिनसम्म खोजी गर्दा गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भविद् झिकाएर उक्त क्षेत्रको अध्ययन समेत गरिएको थियो ।
खानी तथा भूगर्भ विभागका विज्ञ मार्फत अध्ययन गर्दा बोरिङका कारण जमिन भासिएर गाडी हराएको निष्कर्ष सहितको प्रतिवेदन आएको थियो । सोही अनुसार विभागबाट पुनः २ जेठमा भूगर्भविदको टोली खटिएर माटो अनसन्धान तथा परीक्षणका लागि नमुना सङ्कलन गरिएको थियो । माटो परीक्षणको रिपोर्ट र भूगर्भविदको प्रतिवेदनको आधारमा ६ जेठ मंगलबार गाडी भासिएको स्थानमा जेसीबी प्रयोग गरेर गाडी खोज्ने कार्य गरिएको हो ।
सो स्थानमा उत्खनन गरी सवारी साधन खोजी गर्न सकिने रिपोर्ट तथा सतर्कता अपनाई उत्खनन् गरी सवारी साधन खोज तलास गर्न सकिने स्थानीय जनपतिनिधिलाई दिइएको सुझाव अनुसार उत्खनन कार्य गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा क्रेन र स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको निकालिने कार्य भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्