नेपाल । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ ।
सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।
एटके एक्सपिडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको टोलीले सगरमाथाको चुचुरोसम्म पुगेर डोरी टाँगेको हो ।
टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन्। यो पटक सगरमाथाको ‘रोप फिक्सिङ’मा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म यो सिजनका लागि ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए ।
यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन् । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा छन् ।
प्रतिक्रिया दिनुहोस्