कविता: पाताल सुन्दरी
-सुदीपभद्र खनाल-
तिम्रो याद मिठो म भित्र छ कतै अम्लान अन्तर्यमा
गाढा रूप छिपी छ यो नजरको नानी बनी नैनमा
तिम्रै शुभ्र छटा म भित्र छ यहाँ हे मोहिनीझैँ परी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी
तिम्रो गीत मिठो छ प्रेम रसको गुँज्दै अझै कानमा
तिम्रो प्रीत मिठो पवित्र मनको खुल्दैछ उद्ध्यानमा
तिम्रै पावन भावका लहरमा डुब्दै छु हे लैबरी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी
तिम्रो नूतन सभ्यता लहरको आलोकले लोभिई
तिम्रो अर्थ र ज्ञान शक्ति प्रविधि स्पृही बनी झुम्मिई
तिम्रै उज्वल रश्मिका झिलिमिली हेरी रमाएँ परी
तिम्रो मोहन मादमा लठ म छु पातालकी सुन्दरी
वासन्ती कुसुमी कला हृदयकी आल्हादिनी पावन
लाग्ने चन्द्र शरत् छटा कुमुदिनी हे मोहिनी यौवन
तिम्रै प्रेम पहारका वश परी फस्दै गएझैँ चरी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी
आभा जादुगरी बस्यो कि यसरी भुल्नै नसक्ने गरी
जस्त...









