कविता: म मरेको सपना
-आर.आर. चौलागाईं-
...
आज राति मैले
एउटा भयानक सपना देखेँ
म मरेको सपना ।
म भुईँमा लाश भएर लडेको थिएँ
मेरा वरिपरि मेरा आफन्तहरू
मलाई घेरेर बसेका थिए
मेरा छिमेकीहरू थिए
मेरा साथीभाइहरू थिए
मेरी श्रीमती रोइरहेकी थिइन्
मेरा छोराछोरीहरू पनि रोइरहेका थिए
असङ्ख्य मान्छेहरू थिए
घरभरि
आँगनभरि ।
एउटा भन्दै थ्यो-
"वहाँ नै हो मलाई चिनाउने
नत्र म उहिल्यै हराइसक्थेँ"
उसको कुरा सुनेर मलाई खूब हाँसो उठ्यो
किनकि मेरो नाम चलेको देखेर
ऊ मलाई सबभन्दा बढी रीस गर्थ्यो
अर्को भन्दै थ्यो-
"वहाँ नै हो मलाई
अधिकार, कर्तव्य, दायित्व
र अनुशासन सिकाउने
नत्र म उहिल्यै पत्रु भएर गइसक्थेँ"
उसको कुरा सुनेर मलाई अचम्म लाग्यो
मलाई सबभन्दा बढी दु:ख दिने उही थियो
ऊ मेरो लाखौँ रुपैयाँ खाएर बेपत्ता भएको थियो
म सुनिरहेको थिएँ
धेरैले मलाई यसरी नै तारीफ गरिरहेका थिए
मेरो गुणगान गाइर...








