२८ असार २०८३, आईतवार

अमेरिकाको बोस्टनमा गुरुङ समुदायले तमु ल्होसार हर्षोल्लासका साथ मनाए

कोलोराडोखबर संवाददाता , December 30th, 2024

बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका गुरुङ समुदायले बोस्टनमा २३औं बोस्टन तमु ल्होसार हर्षोल्लासका साथ मनाए । विगत वर्षमा झैं यस वर्ष पनि गुरुङ समुदायले अन्य समुदायको माँझमा तमु ल्होसार हर्षोल्लासका साथ मनाएका हुन् ।

बोस्टन स्थिति गुरुङ समुदायको पुरानो संस्था बोस्टन तमु समाजले गत डिसेम्बर २७ तारिख शुक्रबार साँझ ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालीपन, पहिचान र एकतामा विशेष जोडदिइएको थियो । विविध नेपाली भाषा, भेषभुषा, पहिचान, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने र एकताको सन्देश दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

‘मौलिक संस्कार र संस्कृति जोगाऔं, विविधतालाई एकतामा बाधौं ‘ भन्ने मूल नाराका साथ साङ्गीतिक माहोलमा मनाइएको उक्त कार्यक्रम, उद्देश्य र चिताए अनुसार सफतापूर्वक सम्पन्न भएको आयोजकको दावी छ।

नेपाल र नेपालीको पहिचान झल्काउने कार्यक्रम स्थलको सजावट, आयोजक, कलाकारहरु, विभिन्न समुदायका सहभागीहरुले आफ्नो जातीय तथा नेपाली पहिचान झल्किने भेषभुषा, नेपाली भाषा, नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली वाद्यवादन, नेपाली गीत सङ्गीत, नेपाली स्वादका स्वादिष्ट परिकारहरु आदिले कार्यक्रम स्थल नेपालमय भएको थियो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुभारम्भ गरिएको कार्यक्रम, बौद्ध धर्म गुरु डाक्टर भिखु प्रज्ञालोक भान्टेद्वारा विश्व शान्ति र समस्त प्राणी जगतको कल्याणको कामनासहित प्रार्थना गरेर अगाडि बढेको थियो । कार्यक्रमलाई अगाडि बढाउनेक्रममा सहभागी अतिथि तथा पाहनाहरु, कलाकाहरु, सहभागीहरुलगायतलाई कार्यक्रम आयोजक संस्था बोस्टन तमु समाजका अध्यक्ष रोबिन गुरुङले स्वागत गर्दै सबैलाई तमु ल्होसारको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको मूख्य आकर्षणको पाटो ल्होसार केन्द्रित विविध सांस्कृतिक कार्यक्रम रहेको थियो । साङ्गीतिक प्रस्तुतिको पहिलो सौगात स्वरुप बोस्टन लोक सुसेली समूहका कलाकारहरुले नौमती बाजा बजाएका थियो। नौमती बाजा बजाउदा निस्किएको कर्णप्रिय धुनले सबैको ध्यान खिच्न सफल भएको थियो। नौमती बाजाले साङ्गीतिक पर्दा खोलिदिएपछि कलाकारहरुले ‘हामी नेपाली, हाम्रो नेपाल’ बोलको गीतमा गरेको नृत्यले, सहभागीहरुलाई नेपाल र नेपालीहरुसंग भावनात्मक रुपमा जोड्न सुत्रधारको काम गरेको थियो ।

साङ्गीतिक कार्यक्रमको दौरनमा कलाकारहरुले हरसम्भव नेपालको हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्मलाई समेट्ने गरी आफ्ना साङ्गीतिक प्रस्तुतिहरु पस्केका थिए । यसैक्रममा, गुरुङ कलाकारहरुले आफ्नो जातीय पहिचान झल्काउने आकर्षक गुरुङ नृत्य प्रस्तुत गर्न कुनै कसर बाँकी राखेनन् ।

विभिन्न जातजातिका कलाकारहरुले घाटु , कौडा, सोरठी, मारुनी, हुड्केली, झ्याउरेलगायत गीतहरुमा गरेको नृत्यले कार्यक्रमलाई ऐतिहासिक, रोमाञ्चक र भव्य बनाउन महत्वपूर्ण भूमिका खेल्यो । तिव्बती भाषाको गीतमा तिब्बती भेषभुषामा सजिएका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्दा, सहभागीहरु सोचमग्न र मन्त्रमुग्ध हुन वाध्य भएका थिए ।

साङ्गीतिक कार्यक्रमको दौरानमा अतिथि कलाकार द्वय दुर्गा गुरुङ र सुरेन्द्र गुरुङले एकल तथा संयुक्त रुपमा प्रस्तुति दिएका थिए । लोक दोहोरीका क्षेत्रमा राम्रो छाप छोड्न सफल यि दुबै कलाकारहरुले मञ्च साझा गरेर गीत गाउदा, सहभागीहरुले पनि नाच्दै, गाउदै, रमाउदै साथ दिएका थिए । साङ्गीतिक कार्यक्रमको अन्त्यतिर स्थानीय कलाकार बिराज गुरुङले गाएका चर्चित गीतहरुले साङ्गीतिक माहोललाई थप रौनकता दिएको थियो । बोस्टन तमु समाजका सचिव उमन गुरुङ र कमला गुरुङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा, डिजेको महत्वपूर्ण भूमिका भने डिजे सन्दिप भट्टराईले निभाएका थिए । कार्यक्रमममा चार सय बढिको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा, बोस्टन तमु समाजका उपाध्यक्ष कला (आरती) गुरुङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गर्दै प्रत्यक्ष परोक्ष रुपमा साथ सहगोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरिन्। कार्यक्रमको प्रारम्भदेखि अन्त्यसम्म सक्रिय सहभागिता जनाउदै सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए। सहभागीहरुले नेपाली स्वादका विभिन्न परिकारहरु खादै, नेपाली गीत सङ्गीतमा नाच्दै, गाउदै र रमाउदै आपसमा ल्होसारसहित क्रिसमस र नयाँ वर्ष २०२५ को समेत शुभकामना आदानप्रदान गर्न भ्याएका थिए।

सहभागीहरुले कार्यक्रम अत्यन्त आकर्षक, मनोरञ्जनात्मक, सभ्य र भव्य भएको प्रतिक्रिया दिएका छन्। प्रवासमा उपलब्ध सिमित श्रोत साधनका बाबजुद पनि सबैलाई समेटेर नेपाल नै बिर्साउने गरी कार्यक्रम गरिएकोमा हर्षित हुदै सहभागीहरुले कार्यक्रम आयोजकलाई धन्यवाद दिएका छन्। कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिदै बोस्टनबासी समाजसेवी प्रकाश अधिकारीले भने, ‘कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।’

म्यासाच्युसेट्स राज्यको छिमेकी राज्य न्युहेम्सायरबाट कार्यक्रममा सहभागिता जनाउन आएकी सुन्दरी सुनु गुरुङले पनि कार्यक्रम निकै स्तरीय, व्यवस्थित, उल्लेखनीय र नयाँ पिँडीका लागि उत्साहजनक रहेको बताइन्। बोस्टनका लागि नेपालका पर्यटन प्रवर्धक मिलन गुरुङले पनि कार्यक्रम गुरुङ जातिले आयोजना गरेको भएतापनि, कार्यक्रममा सबै नेपालीहरुको प्रतिनिधित्व रहेको जिकिर गरे। उनले भने, ‘नेपाललाई नै यो अमेरिकामा प्रतिनिधित्व गर्ने खाल्को यो कार्यक्रम एकदम उत्साहजनक र सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न भएको छ। त्यसका लागि तमु समाज परिवारलाई धन्यवाद दिन चाहन्छु।’

कार्यक्रम लक्ष्य गरिए भन्दापनि उत्साहजनक, मनोरञ्जनात्मक र फलदायी रुपमा सम्पन्न भएको आयोजकको ठम्याई छ। बोस्टन तमु समाजका अध्यक्ष रोबिन गुरुङले नेपालीपन, पहिचान र एकतालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रम, सफलतापूर्वक नै सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उनले कार्यक्रम सफल बनाउन सबैबाट माया, स्नेह र सद्भाव प्राप्त भएकोमा बोस्टन तमु समाज कृतज्ञ भएको बताए। चिताए अनुसार नै कार्यक्रम गर्न सकिएको जिकिरसहित अध्यक्ष गुरुङले साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि उस्तै साथ सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।

यस वर्ष ‘तमु ल्होसार’ यही आउदो पौष १५ गते अर्थात डिसेम्बर ३० तारिख सोमबारका दिन परेको छ। चाइनिज पात्रो अनुसार १२ वर्षलाई एउटा चक्र मानेर हरेक वर्ष १२ वटा छुट्टा छुट्टै जनावरहरुका आधारमा नाम राख्ने गरिन्छ। तिब्बती बौद्धमार्गीहरुले वर्ष दिन भरी तमु या तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार गरी तिन प्रकारको ल्होसार मनाउने गरेको पाइन्छ। जो नेपालमा पनि प्रचलित छ। यसै सिलसिलामा यस पटक गुरुङ समुदायले ‘मुप्र्ही ल्होु९गिद्ध वर्ग० वर्षलाई विदा गर्दै ‘सप्ह्री ल्हो९सर्प वर्ग० नयाँ वर्षलाई स्वागत गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्