३ आश्विन २०८१, बिहीबार

विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई एनआरएनए अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

कोलोराडोखबर संवाददाता , December 25th, 2023

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ का लागि विजय हितानको उपन्यास लाहुरेको रेलिमाई सिफारिस भएको छ ।

गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई विसं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने गरेको छ ।

यसै बमोजिम विसं २०७९ को पुरस्कारका लागि सो वर्षभरमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्नुहुने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरेको रेलिमाईलाई प्रदान गर्ने निर्णय गरेको छ । पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी वर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइबालाई पुरस्कृत गरिएको थियो ।

गीतसंगीतकामार्फत नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नुभएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाईले गायक थापाको दृष्टिविन्दुबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रश्तुत गरेको छ । त्यससँगै उहाँको संघर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ ।

पुरस्कृत कृति लाहुरेको रेलिमाईका लेखक विजय हितानलाई गैरआवासीय नेपाली संघले एक बिशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्र सहित यो पुरस्कार प्रदान गर्नेछ ।

आइतबार सम्पन्न संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठकले छनौट समितिको उक्त सिफारिससँगै लाहुरेको रेलिमाईलाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्