३० भाद्र २०८१, आईतवार

अमेरिकाको कोलोराडोमा पनि घन्किन थाल्यो पञ्चेबाजा

कोलोराडोखबर संवाददाता , September 2nd, 2024

–मीन बोलखे (कोलोराडो, अमेरिका) । विभिन्न पेशा व्यवसायमा आवद्ध उत्साही युवाहरुले शुभ कार्यमा बजाइने पञ्जेबाजालाई अमेरिकाको कोलोराडोमा पनि भित्र्याएका छन् ।

नेपाली संस्कृति र रितिरिवाजलाई जोगाउने उद्देश्यले नेपालीको लोकप्रिय बाजा कोलोराडोमा पनि भित्र्याएको कोलोराडो निवासी प्रकाश पौडेलले बताए । उनी एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष पनि हुन् ।

पञ्चेबाजा अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । यी बाजाहरु कोलोराडो निवासी प्रकाश पौडेल, बिटी मगर, माधव खनाल, हरिस खत्री, नारायन, सापकोटा, राजु आले मगरको टिमले बजाउने गरेको छ ।

उनीहरुले यी बाजाहरु नेपालबाट अमेरिका पुर्याएका हुन् । उनीहरुलाई पनि ती बाजा पहिले बजाउन आउँदैन थियो । तर अभ्यास गरेर उनीहरुले अहिले पञ्चेबाजाको राम्रो धुन निकाल्न सक्ने भएका छन् ।

विशेष गरी विवाह, ब्रतबन्ध लगायत शुभ कार्यमा पञ्चेबाजा बजाइने नेपाली परम्परा रहेको छ ।

देउराली पञ्चेबाज डेनभर, कोलोराडोको नाममा उनीहरुले पञ्चेबाजा बजाउन थालेका छन् । कोही कसैले शुभ कार्य गर्दा पञ्चेबाजाको आवश्यकता परे आगामी दिनमा केही शुल्क तय गरेर ती कार्यक्रमहरुमा पनि आफ्नो कला प्रस्तुत गर्ने योजना गरेको समूहका एक सदस्य पौडेलले बताए ।

पञ्चेबाजा बजाउन आगामी पुस्ताहरुलाई पनि सिकाएर नेपाली संस्कृतिहरुलाई पुस्तान्तरण गर्ने उनीहरुको सोच छ ।

प्रतिक्रिया दिनुहोस्