७ जेष्ठ २०८१, सोमबार

माधव नेपाल भन्छन्–‘दुर्गा प्रसाईँलाई राज्यले नियन्त्रण गर्नुपर्छ’

कोलोराडोखबर संवाददाता , November 26th, 2023

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई यथार्थ विषय बताउन सभा, सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने विचार फैलाएर जनताको भावनामाथि खेलिरहेका समूहबाट सचेत रहन आग्रह गर्नुभयो । गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति अहिले परिचालित रहेको बताउँदै उहाँले भन्नुभयो, “म जनतालाई अनुरोध गर्न चाहन्छु, हामीले सत्य कुरा भुलेर भीडको पछि लाग्नु हुँदैन ।”

दुर्गा प्रसाईँलाई लक्षित गर्दै पीडितको मुद्दा उठाउने बहानामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “बैंकबाट ऋण लिएका मान्छेलाई ऋण तिर्नु पर्दैन भन्दै उनीहरूको भावनामाथि खेलिरहेका छन् । खास पीडित को हुन् ? कसरी उनीहरू पीडित भएका हुन्, त्यसको खोजी गर्नुपर्छ ।”

कार्यक्रममा अध्यक्ष नेपालले सहिदहरूको बलिदानी, जनताको कठोर सङ्घर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न हामी तयार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्