नेपाल । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ ।
मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ ।
मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात गर्यो । अमेरिकाको कान्सास सिटीमा रहेको एरोहेड रङ्गशालामा उपस्थित ६९,०४५ दर्शक सामु ३८ वर्षीय मेसीले आफ्नो २०० औँ अन्तर्राष्ट्रिय खेललाई विशेष बनाउनुभयो । समूह ‘जे’ अन्तर्गत भएको खेलमा अल्जेरियाविरुद्ध खेल्दै मेसी छ विश्वकप खेल्ने पहिलो खेलाडी पनि बन्नुभयो ।
सन् २००६ मा किशोर उमेरमा हुँदा मेसीले जर्मनीमा पहिलो विश्वकप खेल्नुभएको थियो । १८ वर्षको उमेरमा मेसीले सर्बिया मोन्टेनेग्रोबिच खेलेर विश्वकपमा पदार्पण गर्नुभएको हो । उहाँले सो खेलमा गोल पनि गर्नुभयो । मेसी सन् २०१० मा भएको विश्वकपमा भने गोलविहीन हुनुभयो तर त्यसपछि उहाँले सन् २०१४ को संस्करणमा चार गोल, सन् २०१८ मा एक गोल र पछिल्लो संस्करणमा सात गोल गर्नुभएको थियो ।
२० वर्षपछि मेसीले विश्वकपको सबभन्दा ठुलो फुटबल मञ्चमा पहिलो ह्याट्रिक गर्नुभएको छ । जुन यस विश्वकपको पहिलो ह्याट्रिक पनि भएको छ । मेसीको खेल जीवनको भने यो ६१ औँ ह्याट्रिक हो । अर्जेन्टिनाको जर्सीमा मात्र उहाँले ११ ह्याट्रिक गर्नुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्