२८ माघ २०८२, बुधबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त, १४ सदस्यीय मन्त्रिपरिषद् गठन

कोलोराडोखबर संवाददाता , June 8th, 2024

नेपाल (जनकपुरधाम) । मधेश प्रदेश सरकार फेरिएको छ । शुक्रबार जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।

यता शुक्रबारनै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय, शारदा थापा शिक्षा तथा संस्कृत राज्यमन्त्री र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्