२१ बैशाख २०८१, शुक्रबार

इरानद्वारा ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला

कोलोराडोखबर संवाददाता , April 14th, 2024

अमेरिका । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।

मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।

इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई ूइजरेली अपराधूको जबाफ बताएको छ ।

जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् ।

यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले ‘अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा’ झेल्नुपर्ने चेतावनी दिएको थियो ।

इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ ।

इजरेलले हमलाहरू अझै नरोकिएको जनाएको छ। इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ ।

एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ।

एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो ‘एरो’ हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ ।

आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन् ।

इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए । –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्