२१ बैशाख २०८१, शुक्रबार

कविताः नयाँ वर्ष

कोलोराडोखबर संवाददाता , April 13th, 2024

–मिथिला अधिकारी–
अनन्त कालदेखी आउँदै जाँदै गरेका
कयौं वर्षहरु जस्तै,तिलस्मी आशाहरु
बोकेर भित्रिँदै छ यो नयाँ वर्ष पनि ।

कयौँ फाटेका मन,
कयौं टुक्रिएका मुटुहरुले
पिडाका डोबहरुलाई
आफ्नै पैतालाले थिचेर
रक्तिम आँसुलाई, गहभित्रै लुकाएर
ओठहरुलाई, हँसिलो बनाउँदै
स्वागत गर्दैछ्न् नयाँ वर्षलाई ।

यो खुशी, यो उमङ्गलाई, नियाली रहँदा
लाग्छ
सुख र खुशी भित्रिने आशामा
उज्यालिएका हुन्
मलिन अनुहारहरु ।

पक्कै पनि नयाँ वर्षले
खुशी लिएर आउने छ
फर्किनेछन उज्याला दिनहरु,
छाउनेछ शान्ति,
भेटिनेछ तिलस्मी ढुकुटी,
हराउनेछ अभाव,
र खुल्नेछ भाग्य,
जादुमय तरिकाले ।

बालुवामा बनाएको
बिशाल जादुई नगरी जस्तै
सुन्दर कल्पनाहरु बोकेर
फेरि पनि आएको छ
यो नयाँ वर्ष ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्