१८ कार्तिक २०८१, आईतवार

७ जना स्रस्टाहरू साहित्य सङ्गम मकवानपुरद्वारा सम्मानित

कोलोराडोखबर संवाददाता , March 24th, 2024

नेपाल (हेटौंडा) । शनिबार साहित्य सङ्गम मकवानपुरले ७ जना स्रस्टाहरूलाई सम्मानित गरेको छ । कथा, कविता, मुक्तक, गजल आदि सिर्जनाका साथै कलाकारितामार्फत् साहित्यको विकासमा योगदानस्वरुप स्रस्टाहरू सम्मानित भएका हुन् ।

३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रमका सभाध्यक्ष सङ्गमका अध्यक्ष डीबी बर्तौला तथा प्रमुख अतिथि साहित्यकार निर्मोही व्यास लगायतले सर्जकहरूलाई सम्मानित गर्नु भएको हो ।

तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट साहित्य सर्जक तथा कलाकार ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुनु भएको छ । उहाँ कान्छी, मेरी बास्सैलगायत हास्य टेलिश्रृङ्खलाहरूमार्फत् अभिनयमा सक्रिय हुनुहुन्छ ।

मकवानपुरका साहित्य सर्जक विशाल अधिकारी आशुतोषद्वारा १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु भएको छ । उहाँका “मान सरोवर” र “नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त)” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

प्याब्सन मकवानपुरका अध्यक्ष तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटौँडा २ का प्रिन्सिपल विनोद सुवेदी र शिक्षक सुनिता सुवेदीले स्थापना गर्नु भएको १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु भएको छ । पाण्डेका “मातृस्मरण”, “दोछायाँ” र “बन्दीगृहमा समय” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

अमेरिका निवासी दीपक मुडवरीद्वारा स्थापित १० हजार रुपैयाँ राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्य सर्जक विश्वनाथ सञ्जेल सम्मानित हुनु भएको छ । सञ्जेलका “पलपलको मूल्य”, “क्षितिजयात्रा” र “फर्कियौ किनारबाट” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको १० हजार रुपैयाँ राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्य सर्जक भावना सापकोटा सम्मानित हुनु भएको छ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । उहाँका फुटकर रचनाहरू प्रकाशित छन् ।

साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको १० हजार राशिको ‘मुक्ति–तारा सम्मान २०८०’ बाट मकवानपुरका साहित्यिक सर्जक सानुभाइ विश्वकर्मा सम्मानित हुनु भएको छ । उहाँ लोकभावना त्रैमासिकका सम्पादक विश्वकर्माका फुटकर रचनाहरू प्रकाशित छन् ।

साहित्य सर्जक तथा अधिवक्ता ऋषि केबी र शिक्षक तथा साहित्य सर्जक पूण्यशिला श्रेष्ठले स्थापना गर्नु भएको १० हजार राशिको ‘रामहरि–देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित हुनु भएको छ । उहाँ लघुकथा चौतारी मकवानपुरको संयोजक हुनुहुन्छ भने उहाँका अन्तर्द‍ृष्टी र खुसी साहित्यिक कृतिहरू प्रकाशित छन् ।

कार्यक्रममा पुरस्कार संस्थापकहरूमध्येबाट देव श्रेष्ठले मन्तव्य राख्नुभयो भने सम्मानित सातै जनाले आ–आफ्नो रचना वाचनका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सङ्‍गमका कोषाध्यक्ष मेनु चौलागाईँले स्वागत गर्नु भएको कार्यक्रममा सम्मानित सर्जकहरूको व्यक्तित्वबारे सङ्‍गम उपाध्यक्ष सानु खनालले मन्तव्य राख्नु् भएको थियो । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको थियो । –नवसाहित्यबाट

प्रतिक्रिया दिनुहोस्