२६ कार्तिक २०८३, बिहीबार

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने

कोलोराडोखबर संवाददाता , November 12th, 2026

नेपाल । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

आगामी कात्तिक २८ गते दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने उनले जानकारी दिएका छन्। यसका लागि प्रदेशसभा सचिवालयलाई औपचारिक पत्राचारको तयारी गरिएको छ।

यसअघि नेकपा (एमाले( र त्यसपछि नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूको राजीनामा बुझाएका थिए। सत्तारुढ दलहरूको समर्थन फिर्तासँगै मुख्यमन्त्री यादवले सरकार जोगाउन र बहुमत जुटाउन विभिन्न राजनीतिक दलहरूसँगको संवादलाई तीव्र बनाएका छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। हाल प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्