१९ कार्तिक २०८१, सोमबार

कोइलीलाई पराजीत गर्दै भङ्गेरा समूहले जित्यो बोस्टन खुला बास्केटबल प्रतियोगिताको उपाधि

कोलोराडोखबर संवाददाता , March 20th, 2024

सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा आयोजित खुला बास्केटबल प्रतियोगिताको उपाधि ‘भङ्गेरा’ समूहले प्राप्त गरेको छ ।

उपाधिका लागि गत २०२४, मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा भएको अन्तिम खेलमा, भङ्गेरा समूहले ‘कोइली’ समूहलाई २४–१४ को सेटमा पाखा लगाउदै उपाधि हात पार्न सफल भएको हो ।

खेलकुद आइएनसिले आयोजना गरेको प्रतियोगिता, गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिसद्, म्यासाच्युसेट्स च्याप्टरको समन्वयमा सम्पन्न भएको हो ।

नकआउट विधि अवलम्बन गरेर खेलाइएको उक्त खेलहरुमा डाँफे, मुनाल, भङ्गेरा, सुगा, हेरोन, टोड्के, कोइली र मयूर गरी ८ टिमले भाग लिएका थिए। पहिलो चरणको रोमाञ्चकारी प्रतिस्पर्धाहरुमा मुनालले डाँफेलाई, भङ्गेराले सुगालाई, हेरोनले टोड्केलाई र कोइलीले मयुरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

सेमिफाइनलको सनसनीपूर्ण खेलमा भने भङ्गेराले मुनाललाई र कोइलीले हेरोनलाई पाखा लगाउदै उपाधिका लागि हुने अन्तिम प्रतिस्पर्धाको खेलका लागि फड्को मार्न सफल भएका थिए ।

यसैगरी, टु प्वाइन्ट्स फ्रि थ्रो प्रतिस्पर्धामा सौरभ श्रेष्ठले बाजी मारे भने, थ्रि प्वाइन्टस् फ्रि थ्रो प्रतिस्पर्धामा नितिश भट्ट, साङ्गे पाल्देन शेर्पा र सदिप तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

प्रवासी नेपाली समुदायका युवा तथा बालबालिकाहरुलाई शारीरिक तथा मानसिक वृति विकासको महत्वपूर्ण पाटो खेलकुद तथा शारीरिक व्यायाममा सक्रिय बनाउने, समुदाय भित्र रहेका प्रतिभाहरुको पहिचान गर्ने, उनीहरुलाई आफ्नो प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर जुटाइदिने र सामाजिक एकता कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।

आयोजकले प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरुलाई अनलाइन मार्फत निःशुल्क नाम दर्ता गर्ने व्यवस्था मिलाएको थियो। दर्ता भएका खेलाडीहरुलाई एकआपसमा मिलाएर नेपालमा पाइने पंक्षीहरुको नामको आधारमा ८ टिमको निर्माण गरिएको थियो । जसमा कूल ५७ जना खेलाडीहरु समेटिएका थिए । प्रतियोगितामा निर्मल कार्की, शौरभ शेर्चन, शंकर क्षेत्री र बिक्रम जोशीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने, स्कोर टिपोटको भूमिका मिलन कुमार कार्कीले निभाएका थिए ।

प्रतियोगितामा अपेक्षा गरिएको भन्दा बढी खेलाडीहरुले भाग लिएको र सफलता पूर्वक कार्यक्रम सम्पन्न भएको प्रतिक्रिया दिदै खेलकुद आइएनसिका अध्यक्ष रन्जन दाहालले निकै खुशी व्यक्त गरे ।

अध्यक्ष दाहालले समन्वयकारी भूमिका निर्वाह गर्ने एनआरएनए, मासाच्युसेट्स च्याप्टर परिवार, प्रतियोगिता गराउने खेल स्थान उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दिपेन्द्र सुवेदी, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न अमूल्य योगदान पुर्याउने कार्यक्रम संयोजक साङ्गे पाल्देन शेर्पा, पत्रकार, फोटोग्राफर, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सहभागी खेलाडीहरु, रेफ्रीहरु, स्वयंसेवकहरु तथा अन्य सहयोगीहरुलगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतियोगिता सम्पन्न भए पश्चात आयोजकले विजयी टिम भङ्गेरालाई बधाई ज्ञापन गर्दै आकर्षक शिल्ड र खेलाडीहरुलाई ट्रफी प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्