अमेरिका । अस्ट्रेलियाको सिड्नीमा आयोजित नेपाल महोत्सव त्यहाँका प्रधानमन्त्रीको सहभागिताले सफल र भव्य बनेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी ढाकाटोपी लगाएर नेपाली समुदायमाझ उपस्थित हुँदै फेस्टिभलमा सम्बोधन गरेका थिए । उनको सहभागितालाई अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका निम्ति विशेष अवसरका रूपमा विश्लेष्ण गरिएको छ । यो महोत्सवमा अस्ट्रेलियाका प्रधानमन्त्री पहिलोपटक सहभागी भएका हुन् ।
सिड्नीको डार्लिङ हार्बरस्थित टोम्बालुङ पार्कमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सम्पन्न महोत्सवमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायले यहाँको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे ।
फेस्टिभलमा नेपाली खानाका परिकार, कला, संस्कृति र परम्परा झल्काउने नेपाल हाउससँगै विभिन्न व्यावसायिक तथा व्यापारिक स्टलहरू राखिएका थिए । कार्यक्रमअघि सिड्नी टाउन हलदेखि फेस्टिभलस्थलसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।
कार्यक्रममा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले पनि अस्ट्रेलियन नेपाली समुदायको योगदानको प्रशंसा गरे । अस्ट्रेलियाका निम्ति नेपाली कार्यवाहक राजदूत तारा गौतमले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई आउँदा दिनमा अझ गतिशील र प्रगाढ बनाउन आह्वान गरिन् ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले महोत्सवलाई नेपाली समुदायका निम्ति ऐतिहासिक अवसरका रूपमा उल्लेख गरे । फेस्टिभलका मुख्य प्रायोजक मार्की होम्सका एर्साद अहमदलले नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनए न्यु साउथ वेल्स संयोजक उषाकिरण बारिया पोखरेलले सबैको साथ, सहयोग र सामूहिक प्रयासबाट नेपाल फेस्टिभल यो उचाइमा पुगेको बताइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्