सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको न्यू इङल्याण्डवासी प्रवासी नेपाली युवाहरुको सक्रियतामा गठित संस्था खेलकुद आइएनसीले बोस्टनमा खुला बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।
‘स्वास्थ्य, कल्याण, समुदाय र सामुहिक कार्य’ लाई आफ्नो मूल मन्त्र बनाएर संस्थागत उद्देश्य प्राप्तिका लागि सक्रिय भइरहेको यस संस्थाले, यही आउदो मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा उक्त बास्केटबल प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगिता गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए) म्यासाच्युसेट्स च्याप्टरसंगको समन्वयमा हुदैछ ।
शारीरिक तथा मानसिक वृति विकासमा टेवा पुर्याउने, समुदाय भित्र रहेका प्रतिभाहरुको खोजी गर्ने, प्रतिभा देखाउन चाहनेहरुलाई अवसर प्रदान गर्ने र आपसी एकतालाई थप मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ ।
आयोजक संस्थाका अध्यक्ष रन्जन दाहालले जानकारी दिएअनुसार प्रतियोगितामा भाग लिनका लागि नाम दर्ता प्रक्रिया खुला भइसकेको छ । निःशुल्क नाम दर्ताको व्यवस्था गरिएको छ। दर्ता भएका खेलाडीहरुलाई आयोजकले खेल मैदानमै एकआपसमा मिलाएर टिमहरु निर्माण गर्ने र उनीहरुका बिच मैत्रीपूर्ण प्रतिस्पर्धा गराउने भएको छ। यसो गर्दा खेलाडीहरुकाबिच आत्मीय सम्बन्ध तथा भातृत्वमा बृद्धि हुने र समूहमा मिलेर काम गर्ने सीपहरुको पनि विकास हुने आयोजकले विश्वास लिएको छ ।
उक्त प्रतियोगितामा भाग लिन हालसम्म ५० जनाले आफ्नो नाम दर्ता गरिसकेको अध्यक्ष दाहालले जानकारी दिए । नाम दर्ताका लागि अझै समय बाँकी भएकाले खेलाडीहरुको संख्या अझै बढ्ने उनले अपेक्षा गरेका छन् ।
प्रतियोगिताको मिति आउन अझै बाँकी भएकाले इच्छुक खेलाडीहरुलाई आफ्नो नाम दर्ता गराइ प्रतियोगितामा भाग लिन र नेपाली समुदायलाई प्रतियोगिता अवलोकन गर्नका लागि खेल मैदानमा उपस्थित हुन अध्यक्ष दाहालले सबै नेपाली समुदायलाई अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्