६ भाद्र २०८३, शनिबार

लघुकथा: चस्मा

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-लक्ष्मण आचार्य-
नेताले नयाँ चस्मा लगाए।
कार्यकर्ताले खुसामद गर्दै सोधे,
“कस्तो देखिएको छ, हजुर ?”

नेताले झ्यालबाट बाहिर पर परसम्मको दृश्य नियालेर हेरे ।
त्यहाँ सडकका खाल्डाखुल्डीहरू देखिएनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जान लागेका युवाहरूको लाम देखिएन। अस्पतालको बिरामीहरूको ताँती देखिएन। ग्याँस डिपोहरूमा खाली सिलिन्डरहरूको कुनै लाम देखिएन । मल र सिँचाइको अभावमा खग्रङ्ग सुकेर धाँजा फाटेको किसानको सुक्खा खेत पनि देखिएन।

“अहा! यो त गज्जबको चस्मा रहेछ ।”
नेताजीले अ‍ौधि खुसी व्यक्त गरे ।
“होइन हाम्रो देश त गज्जबै राम्रो रहेछ त।”
कार्यकर्ताले मुस्कुराउँदै भने,
“हो नि हजुर ! , यो कहाँ साधारण चस्मा हो त ! यो त विशेष चस्मा पो हो त । सत्ताको चस्मा !”

जवाफमा नेताजी मुसुक्क मुस्कुराउँदै चस्मा सुमसुम्याउन थाले ।

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्