३ भाद्र २०८३, बुधबार

काँग्रेसको महाधिवेशन असोज १६ देखि काठमाडौंमा हुने, गगन थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन

कोलोराडोखबर संवाददाता , August 19th, 2026

नेपाल । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन यसअघि घोषणा गरिएकै मिति अर्थात् आउँदो असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसका हालै सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले निर्धारित समयमै महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने जानकारी दिए ।

तल्लो तहका अधिवेशनका सन्दर्भमा बोल्दै प्रवक्ता चालिसेले भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने निर्णय गरेको जानकारी दिए ।

महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यताको विवरण डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने निर्णय गरिएको छ । सदस्यता वितरण, नवीकरण, अध्यावधिक तथा अभिलेख व्यवस्थापन डिजिटल रूपमा गरिनेछ भने छुटेका सदस्यहरूलाई निश्चित समय तोकेर पुनः अध्यावधिकको अवसर प्रदान गरिनेछ।

महाधिवेशनको सम्पूर्ण व्यवस्थापनका लागि पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। यस समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायतका विषय हेर्न आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्नेछ।

महाधिवेशनमा पार्टी सभापति गगनकुमार थापाले ‘आगामी दशकः लोकतन्त्र र कांग्रेस’ विषयलाई केन्द्रमा राखेर मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन् । त्यसैगरी, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा आएका क्षय र योगदानको रूपान्तरणसम्बन्धी’ प्रस्ताव, अर्की उपसभापति पुष्पा भुसालले ‘निर्वाचनसम्बन्धी विशेष प्रस्ताव’ तथा महामन्त्री गुरुराज घिमिरेले ‘संगठनसम्बन्धी प्रस्ताव’ पेस गर्नेछन्।

महाधिवेशन प्रचारप्रसार समितिको जिम्मेवारी प्रवक्ता देवराज चालिसेलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्