२८ श्रावण २०८३, बिहीबार

हेटौँडा सिमेन्टका कर्मचारी चौध महिनादेखि तलबविहीन

कोलोराडोखबर संवाददाता , August 13th, 2026

नेपाल । हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीले १४ महिनादेखि तलब पाएका छैनन् ।

उद्योग लामो समयदेखि बन्द रहेकाले कर्मचारीले नियमित पारिश्रमिकसँगै सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा अवकाशपछिको उपदानसमेत पाउन सकेका छैनन् ।

उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । त्यसबाहेक विभिन्न श्रम तथा कर्मचारीसम्बन्धी शीर्षकमा उद्योगको दायित्व करोडौँ रुपियाँ पुगेको छ ।

उद्योगले उपलब्ध गराएको विवरण अनुसार दक्ष तथा अदक्ष श्रमिकको ज्यालाबापत एक करोड ५३ लाख २१५ रुपियाँ, सुरक्षा सेवाबापत एक करोड ८४ लाख २५ हजार रुपियाँ र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार ७२० रुपियाँ भुक्तानी हुन बाँकी छ ।

त्यस्तै सामूहिक सावधिक जीवन बिमाबापत एक करोड ८६ लाख, सञ्चय कोष कट्टी दायित्व एक करोड ७२ लाख ९३ हजार, नागरिक लगानी कोष ३७ लाख ५३ हजार, अवकाशप्राप्त कर्मचारीको उपदान चार करोड ९० लाख र तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपियाँ रहेको उद्योगले जनाएको छ ।

लामो समयदेखि तलब नपाउँदा कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्