२५ श्रावण २०८३, सोमबार

श्रावणको अन्तिम सोमबार पशुपतिनाथका चारै ढोका खुला

कोलोराडोखबर संवाददाता , August 10th, 2026

नेपाल । सौरमासअनुसार साउन २५ गते श्रावण महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भारी भिड लागेको छ। दर्शनार्थीहरूको सहजतालाई ध्यानमा राख्दै आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनहरूलाई उत्तरतर्फको ढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको छ। श्रावणका प्रत्येक सोमबार भगवान शिवको विशेष पूजा गर्ने परम्परा रहिआएको छ।

यसैबीच, श्रावणको अन्तिम सोमबारका अवसरमा बोलबम यात्रा गर्न हजारौँ भक्तजनहरू सुन्दरीजलमा जम्मा भएका छन्। प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार यो यात्रामा करिब १० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको छ।

आइतबार राति नै सुन्दरीजल पुगेर रातभर भजनकीर्तन गरेका भक्तजनहरूले राति १२स्०० बजेपछि स्नान र नित्यकर्म सकेर खाली खुट्टा सुन्दरीजलबाट पशुपतिनाथसम्मको पदयात्रा गर्दै जल चढाउनतर्फ लागेका छन्।

प्रत्येक वर्ष श्रावण महिनाका सोमबार वाग्मती नदी किनारको सुन्दरीजलमा भेला भई स्नान गरी शुद्ध वस्त्र पहिरिएर जल बोकेर पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार आज पनि यो धार्मिक यात्रा उत्साहपूर्वक चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्