२६ श्रावण २०८३, मंगलवार

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछाने

कोलोराडोखबर संवाददाता , August 11th, 2026

नेपाल । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्नुहुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानको जिम्मेवारी दिईएको हो । एकदिवसीय टोलीको कप्तान बन्नुभएका सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्कनुभएको हो ।

प्रिमियर लिगका लागि क्यानले सोमबार सार्वजनिक गरेको १४ सदस्यीय नेपाली टोलीको कप्तानमा सन्दीप हुनुहुन्छ भने टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललिथ राजवंशी, करण केसी र हेमन्त धामीले स्थान बनाउनुभएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले गत शनिबार प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ तारिख साउदी अरेबियासँग खेल्नेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ ।

अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ । नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ तारिख हङकङसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्