२० श्रावण २०८३, बुधबार

‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध

कोलोराडोखबर संवाददाता , August 5th, 2026

नेपाल । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ ।

आइसिसीले रेड्डीले खेल भावनाविपरित ‘म्याच फिक्सिङ’ सँगै भ्रष्टाचारविरोधी आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै सबै खाले खेलमा आठ वर्षको प्रतिबन्ध गरेको जनाएको छ ।

यी आरोपहरु सन् २०२५ को अबुधाबी टी–१० क्रिकेट लिगका क्रममा भएका घटनासँग सम्बन्धित रहेको छ । यसअघि गत वर्षको नोभेम्बरदेखि रेड्डीलाई अनुसन्धानका लागि अस्थायी रुपमा निलम्बन गरिएको थियो। गल्ती ठहर गर्दै आइसिसीले आठ वर्ष प्रतिबन्धको कारबाही गरेको हो ।

आइसिसीका अनुसार अबुधाबी क्रिकेट लिगमा रेड्डीले एक वा एकभन्दा बढी खेलको नतिजा, खेलको प्रगति वा अन्य पक्षलाई गैरकानुनी रुपमा प्रभावित पारेको, अर्का खेलाडीलाई ‘म्याच फिक्सिङ’ मा संलग्न हुन प्रेरित गरेको, भ्रष्टाचारविरोधी अनुसन्धानका क्रममा आफ्नो मोबाइल फोनबाट अनुसन्धानसँग सम्बन्धित महत्त्वपूर्ण सन्देश र जानकारी मेटाएर अनुसन्धानमा अवरोध गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्