१५ श्रावण २०८३, शुक्रबार

वरिष्ठ बालरोग विशेषज्ञ प्राडा बराललाई अन्तर्राष्ट्रिय सम्मान

कोलोराडोखबर संवाददाता , July 31st, 2026

नेपाल । नेपालका वरिष्ठ बालरोग विशेषज्ञ तथा प्राध्यापक प्राडा मणीन्द्ररञ्जन बराल एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड, २०२६’ बाट सम्मानित हुनुभएको छ ।

एसिया प्यासिफिक पेडियाट्रिक एसोसिएसन (एपिपिए) ले प्रदान गर्ने उक्त सम्मान श्रीलङ्काको कोलम्बोमा जुलाई २८ मा आयोजित १९ औँ एसिया प्यासिफिक कांग्रेस अफ पेडियाट्रिक्सको उद्घाटन समारोहमा प्राडा बराललाई प्रदान गरिएको हो ।

बालरोग विज्ञान, नवजात तथा बालस्वास्थ्य सेवा, चिकित्सा शिक्षा, अनुसन्धान तथा बालस्वास्थ्य प्रवर्धनमा प्राडा बरालले पुर्याउनुभएको दीर्घकालीन, उत्कृष्ट तथा अनुकरणीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको एपिपिएले जनाएको छ ।

प्राडा बरालले विगत छ दशकभन्दा बढी समयदेखि नेपालमा बालरोग उपचार, चिकित्सा शिक्षा, अनुसन्धान तथा नवजात शिशु र बालबालिकाको स्वास्थ्य सेवाको विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको नेतृत्व, समर्पण र सेवाले हजारौँ नेपाली बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पु¥याएको तथा मुलुकमा बालरोग सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय भूमिका रहेको छ ।

बालरोग क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एसिया–प्रशान्त क्षेत्रका चिकित्सकलाई मात्र प्रदान गरिने यो सम्मान प्राप्त हुनु प्राडा बरालका लागि मात्र नभई नेपाली चिकित्सा समुदाय र समग्र राष्ट्रकै लागि गौरवको विषय भएको सरोकारवालाले बताएका छन् । यस सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चिकित्सकहरूको क्षमता, व्यावसायिक दक्षता र बालस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको योगदानलाई थप उजागर गरेको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्