६ श्रावण २०८३, बुधबार

व्यापक बिरोधपछि प्रधानमन्त्री शाहद्वारा शिक्षा र स्वास्थ्य कर हटाउने घोषणा

कोलोराडोखबर संवाददाता , July 22nd, 2026

नेपाल । निजी शैक्षिक र स्वास्थ्य संस्थालाई लक्षित गरेर सरकारले यसै आर्थिक वर्षदेखि लगाएको तीन प्रतिशत समता कर हट्ने भएको छ । कर हटाउने सरकारको निर्णयको सरोकारवालाले स्वागत गरेका छन् ।

करका सम्बन्धमा सरोकारवाला तथा जनस्तरबाट चासो र चिन्ता व्यक्त भएपछि सरकार उक्त कर हटाउने निष्कर्षमा पुगेको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकबाट कर हटाएको जानकारी दिनुहुँदै जनताको विश्वास र अपेक्षाबाट बनेको सरकारले जनमुखी कामलाई सधैँ प्राथमिकता दिने बताउनुभएको छ ।

साथै सरकारको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेकोसमेत प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो । समता कर हटाउने विषयमा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि परामर्श गर्नुभएको थियो ।

दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन, दलित, सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्न, स्वास्थ्य बिमा विस्तारका लागि स्रोत जुटाउन भन्दै सरकारले बजेटमार्फत तीन प्रतिशत समता करको प्रावधान ल्याएको थियो । तर बजेटमार्फत यस करको घोषणा हुनेबित्तिकै विशेष गरी निजी शिक्षण संस्था र स्वास्थ्य संस्था सञ्चालकबाट यो व्यवस्था व्यावहारिक नहुने गुनासो आएको थियो । यस विषयमा पुनर्विचार गर्न यी संस्थाले सरकारलाई अनुरोधसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्