नेपाल । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व भएको बताउनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषणमा प्रतिष्ठानको योगदान रहेको बताउनुभयो ।
सभामुखले भानुभक्त नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आमनेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभयो ।”
भानुभक्तलाई जन्मदिनमा सम्झने मात्र होइन, उहाँको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेको सभामुख अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नु पर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु पर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नु पर्छ ।
कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा. आना एम स्टिरलाई साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो । उहाँहरूलाई सभामुख अर्यालले सम्मान गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार एवं विभिन्न विद्यालयका छात्रछात्राको पनि सहभागिता रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्