२९ असार २०८३, सोमबार

साविक विजेता अर्जेन्टिनासँगै फ्रान्स, इङ्ल्यान्ड र स्पेन सेमिफाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , July 13th, 2026

नेपाल । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा पुग्नेमा साविक विजेता अर्जेन्टिनासँगै साविक उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेन रहेको छ ।

रोचक विषय यी चारवटै टोली फिफा वरीयताको पनि शीर्ष चारमा छन् । वरीयतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छ ।

आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हराएर अन्तिमा चारमा पुगेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुने छ ।

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको थियो । यस्तै स्पेनले बेल्जियमलाई २–१ गोलले हराएको थियो । फ्रान्स र स्पेनबिच बुधबार राति तथा इङ्ल्यान्ड र अर्जेन्टिनाबिच बिहीबार राति प्रतिस्पर्धा हुने छ । सेमिफाइनल विजेताले साउन ४ गते न्युयोर्क न्यु जर्सीमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

सेमिफाइनलमा पुगेकामध्ये अर्जेन्टिना सर्वाधिक सफल टोली हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ गरी तीन पटक विश्वकप जितेको थियो । यस्तै फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको छ । इङ्गल्यान्ड सन् १९६६ र स्पेन २०१० मा विश्वकप च्याम्पियन बनेका देश हुन् ।

प्रतिक्रिया दिनुहोस्