२७ असार २०८३, शनिबार

कथा: मजेत्रो

कोलोराडोखबर संवाददाता , July 11th, 2026

-आरसी रिजाल-

गाउँबाट छोराबुहारी र नाति सहरतिर लागेको साँझ बुढीले बुढालाई — कस्तो सुनसान लागिरा’छ। मलाई त केही खान मन छैन्। तपाईं खानुस् है भनिन् ।

बुढाले — तिमीलाई केही नभनेको मात्र हो। मलाई धेरै चिज हराएको झैँ लागिरा’छ। छोराको तर्क सुन्दा — सहर नजाओ भन्न सक्ने स्थिति पनि थिएन। नाति नहुँदा गाई दुहुने जाँगर पनि लाग्या छैन् भने।

बुढीले — जाँगर छैन भनेर बाछोलाई माउको दूध चुस्न त दिन पर्‍यो नि भनिन् । बुढा जुरुक्क उठेर गबुवा नबोकी गोठतिर लागे र बाछोलाई खोल्दिए। कल्चौडो चुस्न सधैं उफ्रने बाछो आज यथास्थानमै उभिरह्यो। सायद सधैं घाँटीको दाम्लो खोल्न आउने नातिकेटो नदेखेर हो कि ?

वास्तवमा सगोलका परिवार छुट्टीएर बस्दा दुबैतिर शून्य र न्यास्रो लाग्नु स्वभाबिकै हो । त्यस साँझ गाउँबाट आमाले पोको पार्दिएको खाजा खाए।आज गाउँमा दुई जना र सहरमा तिनजना निकै बेरको छट्पटीपछि निदाए।

बिहान उठ्दा केटो पुरानो मजेत्रोमा लटपटिएर निधाएको देख्दा आमाबाबु झसङ्ग भए। ब्युझिएपछि केटोलाई सोधे। केटोले — सधैं हजुरमासंग सुत्ने बानी उहाँको पसिनाको गन्ध नसुँघी निद्रा पर्दैन होला भनेर बिहान सबेरै स्कुलको ब्यागमा मजेत्रो लुकाएको थिएँ। राती हजुरामाको मजेत्रो ओढेपछि मात्र निद्रा लाग्यो भन्यो।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्