नेपाल । भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ। पुल सञ्चालनमा आएसँगै धादिङको गोल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवाको उत्तरी क्षेत्रमा जाने मुख्य सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि रसुवा, नुवाकोट लगायत भोटेकोशी आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको थियो । बाढीले सडक र पुलमा क्षति पुर्याउँदा अत्यावश्यक सामग्री ढुवानी, उद्धार तथा राहतका कामसमेत प्रभावित भएका थिए।
बाढीबाट अवरुद्ध सडक सञ्चालनमा ल्याउन नेपाली सेना र सडक विभागको सहकार्यमा तादी खोलामा ट्रिपल सिंगल रिइन्फोर्स्ड प्रकारको पुल निर्माण गरिएको हो । पुलको लम्बाइ ५७.९ मिटर र चौडाइ ५।५ मिटर रहेको छ। पुलको भारवहन क्षमता ६० टन रहेको नेपाली सेनाले जनाएको छ।
६० टन भारवहन क्षमताको पुलबाट ठूला मालवाहक सवारीसाधनसमेत आवतजावत गर्न सक्नेछन्। पुलको पहुँच हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यसले बाढीपछि रोकिएको अत्यावश्यक सामग्रीको ढुवानी र नागरिकको आवतजावतलाई सहज बनाएको छ।
नेपाली सेनाको १४ नम्बर बाहिनीको पहलमा सडक विभागसँगको समन्वयमा पुल निर्माण गरिएको हो। पुल निर्माणका लागि आवश्यक सामग्री गोल्छीबाट ढुवानी गरी निर्माणस्थलमा पुर्याइएको थियो । पुल निर्माणसँगै गोल्छीदेखि पुलसम्मको सडकसमेत सुधार गरी सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ।
आयोजनाका प्रमुख कर्णबहादुर थापा, कर्णेलले निरन्तरको बाढीका कारण सडक तथा पुल अवरुद्ध भएपछि यातायात सञ्चालनमा ल्याउन नेपाली सेना निरन्तर खटिएको बताउनुभयो। उहाँका अनुसार सडक सम्पर्क अवरुद्ध हुँदा स्थानीय नागरिकले दैनिक उपभोग्य वस्तुदेखि राहत तथा उद्धार सामग्रीसम्म सहज रूपमा प्राप्त गर्न कठिनाइ भोगिरहेका थिए।
सडक विभागअन्तर्गतको सडक आयोजनाका प्रमुख कृष्णनाथ ओझाले छोटो समयमा पुल निर्माण गरी सडक सञ्चालनमा ल्याउन नेपाली सेनाले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो। विपद् बेला राज्यका विभिन्न निकायबीचको समन्वय र सहकार्यबाट नागरिकलाई तत्काल राहत दिन सकिने उहाँको भनाइ छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्